काठमाडौं ,१७ जेठ । भक्तपुर र काठमाडौंका विभिन्न स्थानहरूमा आफूलाई नेपाली सेनाको मेजर र प्रहरीको डीएसपी भएको भन्दै सर्वसाधारणलाई त्रास देखाएर ठगी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर जिल्ला प्रहरी परिसरका अनुसार, पहिलो घटना भक्तपुर नगरपालिका-२ व्यासीमा घटेको हो। रामेछाप मन्थली नगरपालिका-७ स्थायी घर भई हाल भक्तपुर ताथली बस्दै आएका ३८ वर्षीय रुद्रराज कार्कीले आफूलाई नेपाली सेनाको मेजर भएको बताउँदै ट्याक्सी चालकलाई धाकधम्की दिएका थिए।
कार्कीले कौशलटारबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी चढेका थिए। भाडा माग्दा उनले भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई धम्क्याएर भाडा नतिरी भाग्न खोजेका थिए।
पीडित चालकले तत्काल प्रहरीलाई खबर गरेपछि भक्तपुर जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले बिहीबार कार्कीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिए।
यसैगरी, अर्को घटना शुक्रबार अपराह्न ४ बजे काठमाडौंको कौशलटार क्षेत्रमा भएको थियो। सिरहा जिल्ला बारियारपट्टी गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुरले आफूलाई प्रहरीको डीएसपी बताउँदै विभिन्न व्यक्तिहरूको पैसा उठाइदिने भन्दै ठगी गर्दै आएका थिए।
मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरी क्षेत्रमा उनले पीडितहरूको पैसा उठाइदिने भन्दै रकम असुली गरिरहेको गुनासो प्राप्त भएपछि वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई नियन्त्रणमा लिएको डीएसपी न्यौपानेले जानकारी दिए।
दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूविरुद्ध ठगी र सरकारी कर्मचारीको नक्कली पहिचान देखाएर डरधम्की दिएको आरोपमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरीले सर्वसाधारणलाई सजग रहन र यस्ता नक्कली अधिकारीहरूको झाँसोमा नपर्न आग्रह गरेको छ।
