सडक सुरक्षाका लागि लामबगरमा निजी लगानीमा सडक ऐना जडान, होटल सञ्चालक लामाको प्रशंसनीय पहल

समाचार

मकवानपुर,१६ कार्तिक । काठमाडौंबाट हेटौंडा जोड्ने सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, लामबगरमा सडक सुरक्षा अभिवृद्धिका लागि प्रशंसनीय पहल गरिएको छ।

स्थानीय थेमे सोम होटलका सञ्चालक दावा लामाले आफ्नै निजी खर्चमा सडकको छेउमा सडक सुरक्षा ऐना (कन्भेक्स मिरर) जडान गरेका छन्। सडकमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्ने तथा सवारी आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले उनले व्यक्तिगत लगानीमा उक्त ऐना स्थापना गरेका हुन्।

प्रहरी चौकी खानिखेतका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मनोज कुमार यादवको सक्रियतामा सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्य गरिएको जनाइएको छ।

विशेषगरी घुम्ती तथा मोडहरूमा विपरीत दिशाबाट आइरहेका सवारीसाधन देख्न कठिन हुने भएकाले सडक ऐना जडानले चालकलाई अगाडिबाट आउने सवारीसाधनको अवस्था सहजै जानकारी लिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सडक दुर्घटना नियन्त्रण, जोखिम न्यूनीकरण तथा सवारी आवागमन व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ।

सडक सुरक्षा केवल प्रहरी र राज्यको जिम्मेवारी मात्र नभई नागरिकको पनि साझा दायित्व हो भन्ने उदाहरण दावा लामाको यो कदमले प्रस्तुत गरेको छ। निजी क्षेत्र र स्थानीय नागरिकको यस्तै सामाजिक उत्तरदायित्वपूर्ण सहयोगले दुर्घटना न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सक्ने देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *