पर्साका एसपी मिश्रको ६ महिने कार्यकाल : ३२ करोडभन्दा बढी अवैध सामान बरामद, तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता

समाचार

रसीद आलम

वीरगन्ज, १० असार । पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी गौतम मिश्रले कार्यभार सम्हालेको ६ महिनाको छोटो अवधिमै अवैध कारोवार नियन्त्रण, तस्करी तथा अपराध नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । गत माघ १० गते पर्सा जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेपछि एसपी मिश्रको कुशल नेतृत्व र मातहतका प्रहरी टोलीको सक्रियताले मात्रै अहिलेसम्म ३२ करोडभन्दा बढीको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाका विभिन्न नाकाबाट तस्करले ल्याएका ३२ करोड ८ लाख ५६ हजार ३४२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रमुख मिश्रले जानकारी दिए । त्यस्तै, अवैध सामान बोकेको ३४ वटा गाडी पनि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

हुण्डी कारोवारसमेत नियन्त्रण
यस अवधिमा प्रहरीले स्रोत नखुलेको २९ लाख ९० हजार रुपैयाँसहित हुण्डी कारोवारमा संलग्न ६ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

लागुऔषध ओसारपसार नियन्त्रण र बरामद
यस्तै, लागुऔषध ओसारपसार गर्ने ५६ जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अघि बढाइएको छ । प्रहरीले यो अवधिमा ५ क्विन्टल १६ किलो ७५० ग्राम गाँजा, ३१ किलो ५०० ग्राम चरेस, २२४ ग्राम ४६ मिलिग्राम ब्राउन सुगर, १ किलो ७२ ग्राम अफिम, डाइजेपाम इन्जेक्सन २ एम्पुल, नुर्फिन २ एम्पुल, नाइट्राजेपाम ८८६ ट्याब्लेट लगायतका नशालु पदार्थसमेत बरामद गरेको छ ।

गाँजा–अफिम खेती नष्ट
पर्साका ग्रामीण क्षेत्रका २५ कठ्ठा जग्गामा लगाइएको २ लाख ३२ हजार ६ सय गाँजाका बोट तथा १ कठ्ठामा लगाइएको ५ हजार अफिमका बोट फडानी गरी नष्ट गरिएको छ ।

फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत एसपी मिश्रको निर्देशनमा प्रहरीले १,०२७ जना प्रतिवादीलाई पक्राउ गरी कुल ४१ वर्ष १० महिना १० दिन कैद र १ करोड २२ लाख ७५ हजार २२८ रुपैयाँ जरिवाना असुल गरेको छ ।

गम्भीर घटनाको सफल अनुसन्धान
फागुन ११ गते वीरगन्ज–२७ उदयपुर घुर्मी निवासी इशाल प्रसाद कुर्मीको शव भेटिएको घटनामा प्रहरीले गहिरो अनुसन्धान गरी आरोपी मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाएर पुर्पक्षका लागि जेल चलान गरेको छ ।

अवैध काठ र मानव बेचबिखन नियन्त्रण
अवैध काठ ओसारपसारमा प्रयोग भएको बस, चालक, ट्रयाक्टर र साइकलसहित ७९० क्युफिट काठ वन डिभिजन कार्यालयमा बुझाइएको छ । त्यसैगरी मानव बेचबिखनविरुद्ध ११ वटा मुद्दा दर्ता गरी १७ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ । यस अवधिमा २९ जना महिला तथा बालबालिकाको उद्धार गरी सुरक्षित ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।

चोरीका सवारीसाधन तथा अन्य सामग्री बरामद
एसपी मिश्रकै कार्यकालमा चोरी तथा हराएका १८२ वटा मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

अभियानलाई निरन्तरता
एसपी गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ र नागरिक सुरक्षाका क्षेत्रमा प्रभावकारी कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगामी दिनहरूमा पनि यस्ता अभियानलाई अझ सशक्त रूपमा निरन्तरता दिइने एसपी मिश्रले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *