पर्सामा एसपी गौतम मिश्रको कुशल नेतृत्वमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ

समाचार

रसीद आलम

वीरगञ्ज, असार १२। पर्सा प्रहरीले लागूऔषध ओसारपसारविरुद्ध कडाइका साथ कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको कुशल नेतृत्व र निर्देशनमा भएको अपरेसनमा असार ११ गते दिउँसो काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ३१९ किलो लागूऔषध चरेशसहित ट्रक चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत प्रहरी चौकी सिर्सियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचनाका आधारमा प्रहरी उपरीक्षक गौतम मिश्रलाई जानकारी गराइ संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। उक्त टोलीले प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रकलाई असार ११ गते साँझ करिब ७:३० बजे वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकस्थित सडकखण्डमा रोकिरहेको अवस्थामा फेला पारी ट्रकको सघन जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकको पछाडिको भागमा सेतो प्लास्टिकको बोराभित्र सुनियोजित रूपमा लुकाइ राखिएको अवस्थामा १३ पोकामा ३१९ किलो चरेश बरामद भएको छ। साथै, ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १२ बस्ने ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको छ।

त्यस्तै चालक स्याङ्तानको हाफपाइन्टको दाहिने खल्तीबाट नेपाली नगद १ लाख ९२ हजार रुपैयाँ र एउटा मोबाइल पनि फेला परेको प्रहरीले जनाएको छ। बरामद ट्रक, लागूऔषध चरेश, नगद तथा मोबाइलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका स्याङ्तानलाई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

पर्सा प्रहरीले यस किसिमका अपराधविरुद्ध निरन्तर कारबाही तीव्र पार्दै लैजाने जनाएको छ। प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सबै प्रहरी एकाइलाई सक्रिय रहन निर्देशन दिएपछि पछिल्ला दिनहरूमा पर्सामा लागूऔषध ओसारपसार तथा अन्य अवैध कार्यहरूमाथि प्रहरीले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।

पक्राउ परेका व्यक्ति:
१. बुद्धी बहादुर स्याङ्तान, जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं. १२, उमेर ३६ वर्ष।

बरामद सामग्रीहरू:
१. लागूऔषध चरेश — ३१९ किलो
२. नेपाली नगद — रु. १,९२,०००
३. प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक
४. मोबाइल — १ थान

यसरी प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेका घटनाले पर्सामा लागूऔषध तस्करीविरुद्ध प्रहरीले चालेका कदम प्रभावकारी रहेको देखिएको छ। पर्सा प्रहरी प्रमुख गौतम मिश्रले समुदायसँग सहकार्य गरेर अवैध कार्य नियन्त्रण गर्न सबैसँग आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *