ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

समाचार

काठमाडौं ,१२ असार । गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने तथा देशभित्रै सञ्चालन हुने मालवाहक सवारीसाधनहरूलाई ओभरलोड हुन नदिन कडा निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित सडक क्षेत्रमा हुन सक्ने विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उनले छिमेकी देशबाट भित्रिने र आन्तरिक रूपमै सञ्चालन हुने ओभरलोड सवारीसाधनहरूलाई नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले देशभरका तौलपुलहरूलाई दुरुस्त राख्दै सवारी साधनको भारवहन क्षमताका आधारमा नियमन गर्न र ओभरलोड ट्रकलाई कुनै पनि हालतमा सडकमा सञ्चालन हुन नदिन भनेका छन् । साथै, वर्षाका कारण उत्पन्न हुन सक्ने विपद्, बाढी-पहिरो र अन्य जोखिमयुक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न निर्देशन दिए । “यस्ता जोखिमयुक्त क्षेत्रहरूमा सवारी सञ्चालन गरिए प्रशासन, प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित अधिकारीहरूमाथि कारबाही हुनेछ,” उनले भने ।

गृह सचिव गोकर्णमणि दुवाडीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका सहभागीहरूसहितको बैठकमा गृह मन्त्री लेखकले उद्धारकर्मीहरूको सुरक्षालाई पनि प्राथमिकता दिन आग्रह गरे ।

यस अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सडक सुरक्षाका लागि १७ बुँदे आचारसंहिता प्रस्तुत गरे । सो संहितामा सवारीसाधनको प्रस्थानदेखि गन्तव्यसम्मको सडक अवस्थाबारे जानकारी राख्ने, यात्रुहरूलाई सुरक्षित यात्रा गराउने, ओभरलोड नगर्ने, मादक पदार्थको प्रयोग नगर्ने लगायत विभिन्न प्रतिवद्धताहरू उल्लेख छन् ।

गृहमन्त्री लेखकले यातायात मजदुर र व्यवसायीहरूको १७ बुँदे आचारसंहितालाई सराहनीय भन्दै तत्काल कार्यान्वयन गर्न सबै सरोकारवालाहरूलाई निर्देशन दिए । उनले जोखिमयुक्त सडकमा सवारी सञ्चालन रोक्न तथा ओभरलोड नियन्त्रणका लागि सबै संयन्त्रलाई परिचालन गर्न समेत आग्रह गरे ।

यसरी, बैठकमार्फत सरकारले ओभरलोड सवारी तथा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालन रोक्न सख्त निर्देशन दिएर सडक सुरक्षामा नयाँ कदम चालेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *