काठमाडौं, असार ३१।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा प्रहार गरेका छन्। कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणबारे दाहालले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् कि काम भइरहेको छ र जनताले देख्न सक्ने अवस्थामा छ।
“उहाँले सोध्नुभयो– खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो आग्रह छ, बनिरहेको प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइटका पोलहरू हेर्न जानुहोस्,” ओलीले लेखेका छन्।
प्रधानमन्त्री ओलीले आफूले कामको समय तोकेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै पूर्वप्रधानमन्त्री दाहालको कार्यकालमा कुनै कामको समयसीमा, वाचा वा संकल्प नदेखिएको आरोप लगाए।
“तपाईंले न त कुनै निर्णय गर्नुभयो, न कुनै काम गर्नुभयो,” ओलीको आरोप थियो। उनले थपे, “मैले भने कामको मिति तोकेर गर्छु भनें, त्यस अनुसार आफैंमाथि प्रश्न उठाउने वातावरण बनाइँ, र काम पनि गरें।”
प्रधानमन्त्री ओलीले दाहाल नेतृत्वको समयमा जर्जर अवस्थामा रहेको अर्थतन्त्र अहिले सुधारको दिशामा अगाडि बढेको दाबी गर्दै, तथ्याङ्क हेर्न सुझाव दिएका छन्।

