सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल तीनवटा प्रतिष्ठित प्रशंसा–पत्रद्वारा सम्मानित

समाचार

रसीद आलम

वीरगञ्ज, ६ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सामा गणपतिको रूपमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल हालै विभिन्न तीन प्रतिष्ठित संघसंस्थाबाट प्रशंसा–पत्रद्वारा सम्मानित भएका छन्। उनले आफ्नो कार्यकालमा जिल्लाको समग्र सुरक्षा व्यवस्था, सीमा सुरक्षा, राजस्व संरक्षण, आपतकालीन व्यवस्थापन तथा अनुशासित, जिम्मेवार र कुशल नेतृत्व प्रस्तुत गर्दै उदाहरणीय योगदान पुर्‍याएका थिए।

छिन्नमस्ता बाहिनीद्वारा सम्मान

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबास, महोत्तरीले एसपी धिमाललाई प्रशंसा–पत्र प्रदान गर्दै उनको कार्यकुशलता र समर्पणको उच्च मूल्याङ्कन गरेको छ। वाहिनी प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले हस्ताक्षरित सो पत्रमा उल्लेख गरिएको छ:

“सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पर्सा जिल्लाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सीमा सुरक्षा, राजस्व संकलन, आपतकालीन तथा संचालनात्मक कार्यहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। उहाँले प्राप्त जिम्मेवारी अनुशासित, कर्तव्यनिष्ठ र व्यवसायिक कुशलताका साथ सफलतापूर्वक पूरा गर्नुभएकोले हामी उहाँको योगदानको उच्च कदर गर्दछौं।”

जिल्ला सुरक्षा समितिको प्रशंसा

दोस्रो प्रशंसा–पत्र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको तर्फबाट जिल्ला सुरक्षा समितिद्वारा प्रदान गरिएको हो। सन् २०८१ साल वैशाख ३१ गतेदेखि पर्सामा गणपतिको हैसियतमा कार्यरत एसपी धिमालले जिल्लाका संवेदनशील र जटिल परिस्थितिहरूमा संयमता, समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

“जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तपाइँको पेशागत दक्षता, इमानदारी र समन्वयात्मक क्षमताको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा–पत्र प्रदान गरिएको हो,” प्रशंसा–पत्रमा उल्लेख छ।

जगरनाथपुर गाउँपालिकाको प्रशंसा

तेस्रो सम्मान पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाद्वारा प्रदान गरिएको हो। गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा हस्ताक्षरित प्रशंसा–पत्रमा एसपी धिमालले गाउँपालिकालाई आवश्यक परेको बेला निरन्तर सुरक्षा सहयोग, समन्वय र विश्वासको वातावरण तयार पारेको उल्लेख गरिएको छ।

“शान्ति, सुरक्षा र अमनचयन कायम राख्दै गाउँपालिकासँग सहकार्यमा देखाएको तपाइँको लगनशीलता, कर्तव्यनिष्ठता र पेशागत दक्षताको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा–पत्र प्रदान गरिएको हो।”


तीनवटै संस्थाबाट प्राप्त यी प्रशंसा–पत्रहरू सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको कुशल नेतृत्व, समर्पण र राष्ट्रिय सुरक्षाप्रतिको जिम्मेवारीबोधको प्रतीक मानिएको छ। आगामी दिनहरूमा पनि उहाँबाट यस्तै उत्कृष्ट कार्य निरन्तर जारी रहने अपेक्षा गरिएको छ।

एसपी धिमालले पर्सामा आफ्नो १४ महिने कार्यकालमा उत्कृष्ट कार्य गरि  सरुवा भैई सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौ गएको  र उनको ठाउँमा एसपी पुरन चन्द्र भट्ट पर्सा सशस्त्रको कमान्ड सम्भालेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *