काठमाडौ ,१४ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार, गत मंसिरमा सम्पन्न चीन भ्रमणका क्रममा भएको सम्झौता अनुसार उद्योग विभागले उक्त लगानीलाई स्वीकृति दिएको हो। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्नेछ।
यस उद्योगले ५,१५६ जनालाई रोजगारी दिनेछ भने करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात गर्नेछ। प्रधानमन्त्री ओलीले निर्यात वृद्धि र रोजगारी सिर्जनाका लागि यो परियोजना महत्त्वपूर्ण हुने बताएका छन्।
