काठमाडौं, २८ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलिले यस पटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र आफ्नो पार्टीले पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णय जनताकै हुने भएकाले त्यो निर्णयलाई आफू र आफ्नो पार्टीले पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु हाम्रो कर्तव्य हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।
ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरी साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले जनताको विश्वास नै आफ्नो शक्ति र साथ नै आफ्नो ताकत भएको बताएका छन्।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले स्पष्ट पारे। ओलीले आफ्नो पार्टी सधैं जनताकै बीचमा रहेर जनताकै लागि काम गरिरहने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मत दिने, साथ दिने र विश्वास राख्ने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवा र हितका लागि निरन्तर काम गर्ने बताएका छन्।
