ठगी आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

समाचार

वीरगञ्ज २८ साउन। पर्सा प्रहरीले ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पक्राउ गरेको छ।

 

बुधबार बिहान वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बताए ।

 

एसपी मिश्रका अनुसार, वर्णवालले अनलाइन व्यापार, नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गराउने नाममा विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ असुलेका थिए। उनले “कम समयमै ठूलो कमाइ”को प्रलोभन दिएर असंख्य व्यक्ति तथा परिवारलाई आर्थिक क्षति पुर्‍ याएका छन्।

वर्णवालको अघिल्लो व्यापारिक गतिविधि पनि विवादास्पद रहेको छ। उनले यसअघि ‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’का नाममा व्यवसाय सञ्चालन गर्दै आएका थिए। ती सबै कारोबारमा ठगी र अनियमितताका आरोपहरू लागेका छन्।

पीडितहरूले वर्णवालमाथि प्रहरी र केही दलालहरूसँग मिलेमतो गरी कानुनी कारबाहीबाट बच्ने प्रयास गरेको आरोप पनि लगाएका छन्। धम्की दिने र दबाब सिर्जना गर्ने काममा उनी सक्रिय रहेको दाबी गरिएको छ। करिब १० वर्षअघि आर्थिक रूपमा कमजोर रहेका वर्णवाल हाल छोटो समयमै धनी बनेका कारण उनको सम्पत्ति श्रोतबारे छानबिनको माग तीव्र बनेको छ।

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। नेपालका नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीहरूबीच उनी ‘माफिया’को रूपमा चिनिन्छन्। लगातारका गिरफ्तारीहरूले उनलाई ‘ठगी उद्योग’को योजनाबद्ध र दीर्घकालीन सञ्चालनमा संलग्न व्यक्ति भएको संकेत गर्छ।

यो घटनाले नेपालमा अनलाइन व्यापार, नेटवर्किङ स्किम र क्रिप्टोकरेन्सीमा भइरहेको अनियन्त्रित गतिविधिको गहिरो समस्या उजागर गरेको छ। नियामक निकायको कमजोर निगरानी, कानुनी प्रक्रिया लामो हुनु, र प्रभावित व्यक्तिहरूको आर्थिक साक्षरताको कमीले यस्ता गतिविधि मौलाउने वातावरण बनाएको देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *