बीरगञ्ज, ७ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा सञ्चालन भइरहेको “स्रोत नखुलेको रकम तथा हुण्डी नियन्त्रण अभियान” अन्तर्गत प्रहरीले ठूलो मात्रामा अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा २०८२ भदौ ५ गते करिब साँझ ४:२० बजे वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडकखण्डमा भारत नम्बर प्लेट भएको BR05 AB 7761 र प्रदेश–२–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकी जाँच गर्दा सो रकम फेला पारिएको हो ।
फल्स सिलिङ बनाएर रकम लुकाएको अवस्थामा बरामद
जिल्ला पर्सा घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र जिल्ला बारा महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई पक्राउ गरी कानूनी प्रक्रिया अनुसार खानतलासी गर्दा उनीहरूले चलाएको मोटरसाइकलमा फल्स सिलिङ बनाएर रकम लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको रकममध्ये नेपाली रुपैयाँ १००० दरका नोट १००० थान, जम्मा रु.१० लाख र ५०० दरका नोट ८२७ थान, जम्मा रु.४ लाख १३ हजार ५०० पाइएको थियो । यसरी गरी कुल रु.१४ लाख १३ हजार ५०० नगद फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
कानूनी कारबाही र थप अनुसन्धान
प्रहरीले पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टका अनुसार, स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने आशंकामा गहिरो अनुसन्धान अघि बढाइएको छ । उनले भने, “स्रोत नखुलेको रकमलाई नियन्त्रणमा लिन प्रहरी कटिबद्ध छ, यसलाई रोकथाम गर्न हाम्रो अभियान निरन्तर रहनेछ ।”
पक्राउ परेका व्यक्तिहरूको विवरण
१. सञ्जय कुमार साह, ३९ वर्ष, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–२, घुसुकपुर निवासी।
२. शनि कुमार ठाकुर, ४१ वर्ष, जिल्ला बारा, महागढीमाई नगरपालिका–४, बगडमपुर निवासी।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाले यस घटनाले अवैध हुण्डी कारोबारमा संलग्न समूहहरूमाथि कडा प्रहार भएको बताएको छ ।
