बारा, असोज २५। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित कुइक ट्वान्टी होटलअगाडि हेटौँडा–पथलैया सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी करिब ६० देखि ६५ वर्षीय रामबहादुर थिङ रहेका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे नम्बर नखुलेको सवारी साधनले पैदल हिँडिरहेका थिङलाई ठक्कर दिएर फरार भएको थियो। घटनाबारे बिहान ५ः३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका थिङलाई प्रहरीले आफ्नै सवारी साधनमा तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाएको थियो। तर, बिहान ७ः०३ बजे अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी तथा त्यसका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
