वीरगञ्ज, असोज २६। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले प्रतिबन्धित लागूऔषधविरुद्धको निगरानी तथा नियन्त्रण अभियानलाई तीव्रता दिँदै वीरगञ्जको मितेरी पुलबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ र गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको डग स्क्वाड टोली र बोर्डर इन्टर्याक्सन टिम (बीआईटी) को संयुक्त टोलीले असोज २५ गते भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई शंकाका आधारमा जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५, नरकटुवा निवासी १८ वर्षीय शेख सहजात रहेका छन्। उनको साथबाट कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखिएको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन मितेरी पुल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका अर्का व्यक्तिलाई गाँजासहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँ रहेका छन्। उनको साथमा रहेको झोलाभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ।
सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ। डग स्क्वाड र बीआईटी टोलीको परिचालनले सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिको पहिचान तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
