वीरगञ्ज,२६ असोज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ बहुअरीस्थित धानखेतबाट एक थान १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले सोमबार, २०८३ असोज २६ गते दिउँसो करिब २:३० बजे उक्त बन्दुक बरामद गरेको हो।
वीरगञ्ज महानगरपालिका–२२ बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि रहेको धान रोपेको खेतमा प्लास्टिकको बोराभित्र बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले बन्दुकलाई बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर मल्लले उक्त बन्दुक बरामद भएको जानकारी दिएका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
