रसीद आलम
पर्सा, असोज ६ ।
सशस्त्र प्रहरी बल, पर्साले विशेष सुराकीका आधारमा ठूलो मात्रामा अवैध लागुऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको निर्देशनमा सोमबार राति सञ्चालन गरिएको कारबाहीमा करिब १९.१२६ केजी चरेस बरामद भएको हो।
प्रहरीका अनुसार मिति २०८२ साल असोज ६ गते राति करिब १:०० बजेतिर पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँस्थित एक फुसको छाप्रोमा चरेस फेला परेको हो। विशेष सूचनाको आधारमा बीओपी प्रसौनी भाठ्ठाबाट खटिएको प्रहरी निरीक्षक चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीले उक्त स्थानलाई घेराबन्दी गरी सर्च गर्दा दुईवटा कालो झोलामा कार्टुनभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस भेटिएको प्रहरीको भनाइ छ।
बरामद गरिएको चरेसको कुल तौल १९.१२६ केजी रहेको पुष्टि भएको छ। घटनास्थलमा चरेससँग संलग्न कुनै व्यक्तिलाई भने प्रहरीले फेला पार्न सकेन। बरामद सामग्रीलाई थप कानुनी प्रक्रिया अघि बढाउन बेस पोखरिया बाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सम्भु कटुवालको नेतृत्वमा रहेको मोबाइल टोलीले जिम्मा लिएको छ।
सशस्त्र प्रहरीले बरामद चरेसलाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरिया बुझाउने तयारी गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल, पर्साका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार यस प्रकारका अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ। उनका अनुसार चरेस जस्ता लागुऔषधहरू समाज र युवापुस्ताको भविष्यका लागि खतरनाक हुने भएकाले सशस्त्र प्रहरीले निरन्तर कारबाहीलाई प्राथमिकतामा राखेको छ।
यसअघि पनि पर्सा जिल्लामा विभिन्न समयमा सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद हुँदै आएको छ। तर, पछिल्लो पटक बरामद भएको १९ केजीभन्दा बढी चरेसलाई हालसम्मकै ठूलो उपलब्धि मानिएको छ।
