बारा, असोज ६ ।
बारा प्रहरीका एसपी सन्तोष तामाङको सक्रियतामा अमलेखगंजमा २३६ केजी गाँजा सहित मिनि ट्रक र चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संचालित चेकिङ टोलीले ठूलो मात्रामा सो लागूऔषध गाँजा बरामद गरेको छ ।
असोज ६ गते दिउँसो करिब १ बजे, बारा जिल्लाको जितपुरसिमरा उ.म.न.पा–२१ अमलेखगंजस्थित इ.प्र.का. अमलेखगंजको कार्यालय अगाडि चेकपोष्टमा खटिएको टोलीले मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकी चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ट्रकको छतमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइएका २८ पोका गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजाको तौल २३६ किलो ७५० ग्राम रहेको बारा प्रहरी प्रमुख एसपी तामाङले जानकारी दिएका छन् ।
सो घटनामा संलग्न मिनि ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई समेत नियन्त्रणमा लिई मिनि ट्रकसहित आवश्यक कारबाहीका लागि इ.प्र.का. अमलेखगंजमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले अनुसन्धान कार्य अगाडि बढाइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।
