काठमाडौं ,१९ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै मातहतका सम्पूर्ण युनिटहरूलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
कार्तिक १९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको कार्य विभागद्वारा आयोजित ‘भर्चुअल सम्मेलन, २०८३’ को उद्घाटन गर्दै महानिरीक्षक पौडेलले उक्त निर्देशन दिनुभएको हो।
उहाँले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा कायम गर्ने तथा विभिन्न सम्भावित सुरक्षा चुनौतीहरूको प्रभावकारी सामना गर्न सशस्त्र प्रहरीका सबै युनिटहरू जुनसुकै समयमा परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति, स्रोतसाधन र व्यवस्थापनसहित तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन र आवश्यक परेको अवस्थामा तत्काल परिचालन भई परिस्थितिलाई नियन्त्रणमा लिन सक्ने गरी संस्थागत तयारी मजबुत बनाउनसमेत उहाँले मातहतका निकायहरूलाई निर्देशन दिनुभएको बताइएको छ।
सोही अवसरमा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य सञ्चालन केन्द्रको समुद्घाटन समेत गर्नुभएको थियो।
उक्त केन्द्रको स्थापनाले विपद्का सम्भावित घटनामा समन्वय, सूचना आदानप्रदान तथा उद्धार र राहतसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बलले आफ्नो परिचालन क्षमता र तयारीलाई थप सुदृढ बनाउने सन्देश यस सम्मेलनले दिएको छ।
