पर्सा प्रहरीले नियन्त्रणमा लियो ३२ लाखभन्दा बढी मूल्यको माछा लोड गरिएको ट्रक, भन्सार छलीको आशंका

समाचार

वीरगञ्ज ,१९ कार्तिक । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख गरिएको परिमाणभन्दा बढी माछा लोड गरिएको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ट्रकसहित ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा २०८३ कार्तिक १८ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डमा संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो–कालो रङको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेको पाइएको थियो। तर, ट्रकभित्र आवश्यक कागजातमा उल्लेख गरिएको परिमाणभन्दा थप ४४ क्यारेट माछा बढी लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ।

उक्त ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रबी कुमार साहलाई ट्रकसहित नियन्त्रणमा लिइएको थियो।

प्रहरीले बरामद माछा तथा ट्रकको कुल मूल्यांकन ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ कायम गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि २०८३ कार्तिक १९ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले विशेष सूचनाका आधारमा गरिएको संयुक्त प्रहरी कारबाहीका क्रममा कागजातमा उल्लेखित परिमाणभन्दा बढी माछा फेला परेपछि ट्रक नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

भन्सार कागजातमा उल्लेखित परिमाणभन्दा बढी सामान ओसारपसार गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको यस घटनाले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता थपिएको देखाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *