पोखरियामा सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीलाई ट्राफिक सचेतना, प्रहरी र युवाको संयुक्त अभियान

समाचार

पर्सा ,१९ कार्तिक । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले पर्साको पोखरियामा सञ्चालन गरिएको दुईदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३ साल मंसिर १९ गते बिहान १०:३० बजे इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना तथा पोखरिया बजरंग युवा समाजको सहकार्यमा सञ्चालित कार्यक्रमको दोस्रो दिन पोखरिया बजार क्षेत्रमा ट्राफिक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको हो।

कार्यक्रममा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका कक्षा ८ र ९ मा अध्ययनरत छात्रछात्रा, नेपाल प्रहरी तथा पोखरिया बजरंग युवा समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत सवारी चालक तथा सर्वसाधारणलाई सडक सुरक्षासम्बन्धी विभिन्न नियमबारे जानकारी गराउँदै सवारी दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेत गराइएको थियो।

सवारी साधन चलाउँदा अनिवार्य रूपमा हेल्मेट तथा सिटबेल्ट प्रयोग गर्नुपर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउने, तीव्र गतिमा सवारी नहाँक्ने, जथाभावी ओभरटेक नगर्ने र सवारी साधनका आवश्यक कागजात (सवारी चालक अनुमतिपत्र, ब्लुबुक तथा बीमा) साथमा राख्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

त्यसैगरी ट्राफिक संकेत तथा नियमहरूको पूर्ण पालना गर्न र सडक सुरक्षालाई सबैले आफ्नो साझा जिम्मेवारीका रूपमा लिनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त आचार्यले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार हुनुपर्ने बताउँदै ट्राफिक नियमको पूर्ण पालना गर्न सबैलाई आग्रह गरे।

उनले हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउने, तीव्र गतिबाट बच्ने र आवश्यक कागजात साथमा राख्ने बानीले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

विद्यार्थी तथा युवालाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र दुर्घटनामुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *