पर्सा, ९ असोज ।
लागू औषध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरी बल पर्साले फेरि एक उल्लेखनीय सफलता हात पारेको छ। विशेष सुराकीका आधारमा गरिएको अपरेशनमार्फत प्रहरीले ८ केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको सक्रियतामा उक्त अभियान सञ्चालन गरिएको थियो। एसपी भट्टको निर्देशनमा प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजारा र बिओपी अमरपट्टीका प्रहरी निरीक्षक कृष्ण केसीको संयुक्त टोलीले बिन्दावासिनी गाउँपालिका–४ वर गाछीस्थित ग्रामीण नाकाबाट गाँजा सहित व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ एकटाङ्गा बस्ने २१ वर्षीय सरोज प्रसाद यादव रहेको प्रहरीले जनाएको छ। यादवले गाँजा ढुवानीका लागि प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
नियन्त्रणका क्रममा प्रहरी निरीक्षक घाइते

लागू औषध कारोवारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरी निरीक्षक कृष्ण केसी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उनको बायाँ खुट्टा भाँचिएको छ। यद्यपि, घाइते अवस्थामै उनले गाँजा तस्करलाई नियन्त्रणमा लिन सफल भएका थिए। हाल उनको उपचार अर्थोपेडिक विशेषज्ञमार्फत भइरहेको छ।
एसपी भट्टको प्रतिबद्धता
यस घटनाबारे बोल्दै सशस्त्र प्रहरी प्रमुख एसपी भट्टले लागू औषध कारोबारलाई निर्मम रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “लागू औषध सेवनले युवा पुस्ताको जीवनलाई अन्धकारतिर धकेल्दै लगेको छ। यसलाई रोकथाम गर्न सशस्त्र प्रहरी कुनै पनि हालतमा पछि हट्ने छैन।”
स्थानीयको प्रतिक्रिया
स्थानीय बुद्धिजीवी र सरोकारवालाहरूले ग्रामीण क्षेत्रमा लागू औषधको कारोबार दिनानुदिन बढ्दो अवस्थामा रहेको भन्दै यसविरुद्ध अझ प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विशेष गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी लागू औषध सेवनका कारण स्वास्थ्यमा पर्ने असर र कारोबार गर्ने व्यक्तिलाई कानुनी सजायबारे सचेतना फैलाउन आवश्यक रहेको बताएका छन्।
सशस्त्र प्रहरीको निरन्तर सक्रियता, स्थानीय तहको सहकार्य र जनचेतनामूलक अभियानले पर्सा जिल्लामा लागू औषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास एसपी भट्टले व्यक्त गरेका छन् ।
