पर्सा, २३ असोज ।
आगामी चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ। सिमानाबाट अवैध रूपमा विस्फोटक पदार्थ, हातहतियार, गोलीबारुद, पटाका लगायतका जोखिमपूर्ण सामग्री प्रवेश हुन नदिन सशस्त्र प्रहरीले विशेष सतर्कता अपनाएको हो।
वीरगंज भन्सार क्षेत्रका सबै नाकामा सशस्त्र प्रहरीको टोलीले विशेष तालिमप्राप्त कुकुर (स्निफर डग) प्रयोग गरेर सवारीसाधन तथा सामानहरूको सूक्ष्म चेकजाँच गरिरहेको छ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी पुरनचन्द्र भट्टका अनुसार चाडपर्व नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेकाले सिमानामा निगरानी र अनुगमन थप कडाइ गरिएको हो। उनले भने,
“हामीले चाडपर्वलाई शान्त र सुरक्षात्मक वातावरणमा मनाउन सकियोस् भन्ने उद्देश्यले सिमानाक्षेत्रमा चेकजाँच कडा पारेका छौँ। कुनै पनि किसिमको अवैध गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल पूर्ण सतर्क छ।”
एसपी भट्टले थप बताए कि दशैंको समयमा देशका विभिन्न स्थानमा देखिएका प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको कठिनाईलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल जनधनको सुरक्षासँगै विपद् व्यवस्थापनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। उनका अनुसार,
“हाम्रो फौजले सुरक्षाको जिम्मेवारीसँगै बाढी, पहिरो, र अन्य प्राकृतिक विपद्का बेला जनताको सहयोग र उद्धारमा पनि निरन्तर खटिएको छ।”
अब तिहार र छठ पर्व नजिकिँदै जाँदा सशस्त्र प्रहरीले सिमानाक्षेत्रमा थप सुरक्षा सतर्कता अपनाएको छ। भारतसँगको खुला सीमाका कारण हुने सम्भावित गैरकानूनी गतिविधि रोक्न संयुक्त अनुगमन टोलीहरू पनि परिचालन गरिएको बताइएको छ।
सशस्त्र प्रहरी बल पर्साले आम जनतालाई पनि सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ। उनले अवैध सामान ओसारपसार गर्ने वा सुरक्षालाई चुनौती दिने गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै भनेका छन् —
“हाम्रो उद्देश्य जनताको सुरक्षा हो, जसले गर्दा सबैले आफ्ना चाडपर्वहरू अमन–चैनका साथ मनाउन सकून्।”
सशस्त्र प्रहरी बलको यो सक्रियता पछिल्लो समय सीमाक्षेत्रमा हुने तस्करी, लागुऔषध कारोबार र अवैध हतियार प्रवेशजस्ता गतिविधि नियन्त्रणमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
