पर्सा, असोज २३ ।
बिश्व दृष्टि दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगञ्जको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम असोज २३ गते बिहान ८:०० बजे जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजना गरिएको थियो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित सो शिविरमा १८५ जना प्रहरी कर्मचारीहरूले आँखा परीक्षण गराएका थिए।
आँखा अस्पतालका नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन शाखाका प्रकाश कुमार वर्माको टोलीले परीक्षण कार्य सम्पन्न गरेका थिए।
शिविरमार्फत १०२ जनालाई चश्मा वितरण गरिएको, ११३ जनालाई औषधि वितरण गरिएको, १ जनामा मोतियाबिन्दु र १ जनामा उच्च पावरको समस्या पाइएको अस्पताल स्रोतले जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, अन्य प्रहरी अधिकारी तथा कर्मचारी गरी १८५ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सचेतना र दृष्टि संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ।
