अनेरास्ववियु पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो,हरि खेतान बहुमुखी क्याम्पसमा तत्काल शैक्षिक गतिविधि सञ्चालन गर्न माग।

समाचार

वीरगंज, २३ असोज । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साले पठनपाठन सुचारू गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमदका अनुसार जिल्ला कमिटी पर्साका अध्यक्ष सुजित मण्डलको हस्ताक्षर रहेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी सुवेदीलाई बुझाइएको हो ।

ज्ञापनपत्रमा वीरगंजको आदर्शनगरस्थित हरि खेतान बहुमुखी क्याम्पसमा देखिएको आन्तरिक विवादका कारण पठनपाठन प्रभावित भएको उल्लेख गर्दै तत्काल शैक्षिक गतिविधि सञ्चालन गर्न माग गरिएको छ ।

अनेरास्ववियु पर्साले क्याम्पसका संचालक समितिभित्रको विवादले विद्यार्थीको अध्ययन रोक्नु निन्दनीय कार्य भएको जनाउँदै, सामुदायिक क्याम्पसलाई निजीकरण गर्ने प्रयास तत्काल रोक्न आग्रह गरेको छ । साथै, खेतान परिवारले क्याम्पसको सम्पत्ति र आम्दानी हडप्ने मनसायसहित विवाद सिर्जना गरेको आरोप समेत लगाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “सामुदायिक क्याम्पसलाई निजीकरण गर्ने दिवा सपना त्यागी, आन्तरिक विवाद अन्त्य गरी युवाहरूको विरोध सुरु हुनु अगावै क्याम्पस सुचारू गराउन क्याम्पस प्रशासनले पहल गर्नुपर्छ।”

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सहसचिव आमान अन्सारी, अनिल हजरा लगायत विद्यार्थी युवा नेताहरूको उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *