बारा, २३ असोज ।
लागूऔषध र तस्करीविरुद्ध सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत बाराको विभिन्न स्थानहरूबाट गाँजा र करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ ।
एसपी केसीको नेतृत्वमा हालैका दिनमा सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्र तथा मुख्य व्यापारिक नाकाहरूमा निगरानी र चेकजाँच कडा पारेको छ । सोही क्रममा विभिन्न समयमा खटिएका सशस्त्र प्रहरीका टोलीहरूले ठूलो मात्रामा लागू औषध गाँजा र भन्सार छलि ल्याइएका कपडा तथा अन्य सामानहरू नियन्त्रणमा लिन सफल भएका हुन् ।
प्रहरीका अनुसार—
पहिलो घटना:
असोज २३ गते बिहान करिब १२:३० बजे निजगढ नगरपालिका–८ तामागढी चोक नजिक सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट खटिएको टोलीले शंका लागेका दुई जना व्यक्तिलाई नम्बर नभएको मोटरसाइकलमा देखेपछि जाँच गर्ने क्रममा ती व्यक्तिहरू केही सामान फालेर मोटरसाइकलसहित फरार भएका थिए । सो फालिएको वस्तुको चेकजाँच गर्दा करिब १० किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
दोस्रो घटना:
असोज २२ गते साँझ करिब ६:४० बजे कलैया उपमहानगरपालिका–१० नहर चोकमा सशस्त्र प्रहरी बलको गुल्म मटिअर्वाबाट खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको हो । टोलीले सो क्रममा करिब रु. १,०४,००० मूल्य बराबरको ‘टेम्पोररी ग्लास’ र रु. ३६,००० मूल्य बराबरका लेडिज कपडा बरामद गरेको जनाएको छ ।
तेस्रो घटना:
असोज २३ गते दिउँसो करिब ३:३० बजे जितपुरसिमरा उपमहानगरपालिका–७ लल्कापुलस्थित बिरगंज–पथलैया सडक खण्डमा सुरक्षा बेस जितपुरबाट खटिएको अर्को टोलीले यात्रुवाहक बसमा खोजतलासी गर्दा भारतबाट भन्सार छलि ल्याइएको सामान फेला पारेको हो । बसको डिकी भित्र लुकाएर ल्याइँदै गरेको करिब रु. २,९७,९०० मूल्य बराबरका लेडिज कुर्ता सुरूवाल, सारी र पुरुष कुर्ता पैजामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसरी तीनवटा फरक घटनामा सशस्त्र प्रहरीले कुल रु. ४,३७,९०० बराबरको अवैध सामान बरामद गरी आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
एसपी खुमबहादुर केसीले सिमावर्ती क्षेत्रहरूमा हुने अवैध गतिविधि, लागुऔषध कारोबार र भन्सार छलि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले “शून्य सहनशीलता” नीतिका साथ कडा निगरानी सुरु गरेको बताएका छन् ।
उनका अनुसार, सशस्त्र प्रहरी बलले हाल नेपाल–भारत सीमाक्षेत्रमा विशेष चेकपोस्टहरू सक्रिय बनाएको छ र हरेक शंकास्पद गतिविधिलाई नजिकबाट अनुगमन गरिँदैछ ।
“लागूऔषध र तस्करी हाम्रो समाजको दुश्मन हो। यसविरुद्ध निरन्तर अभियान चल्नेछ,” एसपी केसीले भने।
सशस्त्र प्रहरीले सीमाक्षेत्रमा स्थानीय सरोकारवालासँग सहकार्य गर्दै अवैध कारोबार नियन्त्रण र जनचेतनामूलक कार्यक्रम पनि अघि बढाउने जनाएको छ ।
