भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को नाममा दुर्गा प्रसाईंले मान्छे खटाउँथे, दिन्थे आदेश ?

बिदेश राजनीति समाचार

काठमाडौं,१४ मंसिर ।भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका निकट सहयोगी रहेको खुलेको छ।

विश्वईको सदस्य भन्दै भारतीय नम्बरबाट नेपाली व्यवसायीलाई फोन गरी आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीले प्रसाईंका सहयोगीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१३ बस्दै आएका ३६ वर्षीय हरिशचन्द्र फुयाँल रहेका छन्। पाँचथर साबिक मौवा गाविसका फुयाँल आफूलाई नवीन प्रधान भनेर चिनाउने गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार फुयाँललाई चारआलीबाटै पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

‘फोन र म्यासेज दुबैबाट आफू भारतीय आपराधिक समूह लरेन्स विश्वोइको सदस्य हुँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु, अन्यथा ज्यानसमेत लिने’ भन्दै फुयाँलले व्यवसायीहरूलाई आतंकित पार्ने गरेका थिए। साथै, व्यवसायीसँग आपराधिक लाभ लिन खोजेका थिए।

मेडिकल व्यवसायी साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेपछि व्यवसायीहरूले विश्वोई समूहको सदस्य भन्दै धम्की आउने गरेको गुनासो ब्युरोमा गरेका थिए।

पक्राउ परेका फुयाँलले आफूले उक्त कार्य दुर्गा प्रसाईंकै निर्देशनमा गरेको बयान प्रहरीलाई दिएका छन्।

बोगटीका अनुसार अहिलेसम्म फुयाँलविरूद्ध तीन वटा उजुरी ब्युरोमा परेको छ। उनले अन्य धेरै व्यवसायीलाई फोन गर्ने गरेको थाहा भएको बोगटीले बताए।

फुयाँलविरूद्ध आपराधिक लाभ लिन नहुने कसुर मुद्दा आकर्षित गरी अनुसन्धान थालिएको छ। जिल्ला अदालत काठमाडौंले फुयाँललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ।

विवादास्पद व्यवसायी प्रसाईं प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रकम लगानी गरेको आधारहीन कागजात सार्वजनिकपछि पक्राउ परेका थिए। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *