सिरहा ,३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। एम्बुलेन्स चालक भने प्रहरीलाई देखेपछि गाडी छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलवार (२०८३ भदौ ३० गते) राति करिब ८ बजे चोहर्वाबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएको थियो।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उक्त एम्बुलेन्सलाई पिछा गर्दै जाने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा चालकले एम्बुलेन्स छाडेर फरार भएका थिए।
प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर चेकजाँच गर्दा भित्र जुटका ५ वटा बोरामा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद पदार्थ तौल गर्दा १०५ किलो ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको छ। फरार रहेका एम्बुलेन्स चालकको पहिचान तथा खोजतलास जारी रहेको प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए।
प्रहरीले एम्बुलेन्समार्फत ठूलो परिमाणमा लागूऔषध ओसारपसार गर्ने प्रयास भएको हुनसक्ने भन्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
