पर्सा प्रहरीको नयाँ पहल : पर्यटकका लागि एकै ठाउँमा पर्यटन सूचना र सुरक्षा सेवा

समाचार

वीरगञ्ज,३१ भदौ  । पर्सामा पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा, सहजता र सूचना पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले नयाँ प्रवर्तनात्मक पहल सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा पर्सामा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको पहिचान गरी पर्यटकलाई आवश्यक सूचना एकै माध्यमबाट उपलब्ध गराउने अनलाइन प्रणाली विकास गरिएको हो।

प्रहरीका अनुसार उक्त प्रणालीमा सम्बन्धित पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगञ्जबाटको दूरी तथा यात्रा समय, सडक तथा यातायातको अवस्था, खाना–नास्ता तथा बसोबासका लागि उपलब्ध होटल, रेष्टुरेन्ट तथा रिसोर्ट, नजिकको प्रहरी कार्यालय र सम्पर्क नम्बर, नजिकका अस्पताललगायतका आवश्यक विवरण समावेश गरिएको छ।

त्यसैगरी, पर्यटकलाई गन्तव्यसम्म सहज रूपमा पुग्न Google Maps को सुविधा समेत समावेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्यटक तथा सर्वसाधारणले QR Code Scan गरी वा https://parsatourism.pages.dev अनलाइन साइटको मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पर्सामा आउने पर्यटकलाई सुरक्षा तथा आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो पहल सुरु गरिएको जानकारी दिए।

पर्सा प्रहरीको यस पहलले पर्यटन स्थलको प्रचार–प्रसार, पर्यटकको सुरक्षा, गन्तव्य पहिचान तथा यात्रा सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पर्यटक तथा सर्वसाधारणलाई उक्त QR Code तथा अनलाइन साइटको प्रयोग गरी आफूलाई आवश्यक पर्यटनसम्बन्धी सूचना प्राप्त गर्न आग्रह गरेको छ।

“पर्यटकको सुरक्षा, पर्यटकको समृद्धि हाम्रो नीति” भन्ने मूल नारासहित पर्सा प्रहरीको यो पहललाई “शंकराचार्य गेट–Gateway of Nepal” को अवधारणासँग जोडेर अघि बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *