पर्सा, चैत २२ । पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै नयाँ अभियान सुरु गरेको छ। अभियान अन्तर्गत सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ।
रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा सञ्चालकले नव निर्वाचित सदस्यहरूलाई खादा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलम लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
“वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वन संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो।
रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्ट सञ्चालनमार्फत प्रकृति, वन्यजन्तु तथा जैविक विविधताको अवलोकन गराउने उद्देश्य रहेको जानकारी दिए। उनले पर्यटक आकर्षण वृद्धि र पर्यटन उद्योगको प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।
उनका अनुसार साझेदारी वनदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, निर्माण सम्पन्न भइसकेको हात्तीसार सञ्चालनमा ल्याउने, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण गर्ने तथा वन्यजन्तुका लागि पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यसैगरी, जंगल क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको उल्लेख गर्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ। रिसोर्ट व्यवस्थापनले यस्ता संरचना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ।
कार्यक्रमका वक्ताहरूले वन संरक्षण, स्थानीय समुदायको सक्रिय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
