पर्सा, ११ फागुन । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादपछि उत्पन्न तनाव र कर्फ्युको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालको नेतृत्वमा बसेको बैठकले घटनामा संलग्न दोषी पक्षलाई कानुनी दायरामा ल्याउने, सामाजिक सद्भाव कायम राख्ने तथा भड्काउ गतिविधि रोक्न कडा कदम चाल्ने निर्णय गरेको छ।
बैठकले गरेको प्रमुख निर्णयहरू यसप्रकार छन्:
१. दोषीलाई कानुनी दायरामा ल्याइने
वीरगञ्ज–११ श्रीपुरमा २०८२ फागुन १० गते साँझ भएको घटना तथा त्यसबाट उत्पन्न घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने निर्णय गरिएको छ। यसका लागि पीडित पक्षबाट जाहेरी लिई आवश्यक कानुनी प्रक्रिया यथाशीघ्र अघि बढाइनेछ। दोषी पहिचान र कारबाही प्रक्रियामा धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको छ।
२. भड्काउ गतिविधि र हेट स्पिच गर्नेविरुद्ध कडा कारबाही
व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भड्काउ सामग्री भाइरल बनाउने तथा हेट स्पिच प्रसारण गर्ने व्यक्तिलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याइने निर्णय गरिएको छ।
३. सामाजिक सद्भाव कायम राख्न सबै पक्षको प्रतिबद्धता
आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था तथा निकायबाट शान्ति र सद्भाव कायम राख्न आह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ।
श्रीपुरमा पार्किङको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदै झडप भएपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको थियो। सोही घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनले सर्वपक्षीय बैठक आयोजना गरेको हो।
प्रशासनले सबैलाई संयमित रहन, अफवाहमा नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
