पर्सा, ११ फागुन। वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आइतबार साँझ मोटरसाइकल पार्किङको विषयलाई लिएर सुरु भएको सामान्य विवाद उग्र रूप लिँदा झडपमा परिणत भएको छ। घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरेको छ।
पार्किङबाट सुरु, कुटपिटमा परिणत
प्राप्त जानकारीअनुसार मोटरसाइकलमा आएका एक युवकले चारपाङ्ग्रे सवारीसाधन नजिकै मोटरसाइकल पार्किङ गरेका थिए। सो क्रममा चारपाङ्ग्रेमा रहेका व्यक्तिहरूले उक्त स्थानमा पार्किङ नगर्न आग्रह गर्दा भनाभन सुरु भएको थियो। केहीबेरमै विवाद कुटपिटमा परिणत भएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि सामाजिक सञ्जाल र स्थानीय तहमा यसलाई दुई समुदायबीचको झडपका रूपमा प्रचार गर्ने प्रयास भए पनि प्रारम्भिक अनुसन्धानले विवाद पार्किङकै विषयबाट सुरु भएको देखाएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीको हस्तक्षेप, ४–५ जना घाइते
विवाद चर्किएपछि प्रहरी टोली घटनास्थलमा पुगेर लाठीचार्ज गर्दै अवस्था नियन्त्रणमा लिएको थियो। झडपमा ४–५ जना घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको बताइएको छ।
घाइतेहरूको उपचार नारायणी अस्पताल मा गरिएको र उपचारपछि सबै घर फर्किसकेको अस्पताल स्रोतले जनाएको छ।
कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल द्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज मिति २०८२/११/११ गते बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म का लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्युको चार किल्ला
कर्फ्यु क्षेत्रको सिमाना यसप्रकार तोकिएको छ–
पूर्व: बाइपास रोड
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चौक
दक्षिण: शंकराचार्य गेट
उक्त क्षेत्रभित्र कसैले पनि आवत–जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ।
अत्यावश्यक सेवामा सहजीकरण
कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
