बारा, २८ असोज । जिल्ला बाराको अमलेखगंजस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रतिबन्धित पटाका बरामद गरेको छ।
असोज २७ गते दिउँसो करिब ३:३० बजे, प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडि रहेको चेकपोइन्टमा नियमित सवारी चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिकीभित्र लुकाइछिपाई राखिएको करिब १ लाख २ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका प्रतिबन्धित पटाका फेला परेको हो।
बरामद गरिएको पटाकासहित आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
