पर्सा, असोज २८ । शुभ दिपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहाँमा सुरु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहनु भएको थियो। प्रतियोगिताको उद्घाटन उप–प्रमुख आलमले फिता काटी ब्याटिङ गर्दै शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख आलमले खेलकुदले शारीरिक र मानसिक रूपमा सुदृढ बनाउने बताउँदै गाउँका युवाहरूमा देखिएको खेलप्रतिको उत्साहप्रति प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “म स्वयं बाल्यकालदेखि क्रिकेटप्रति रुचि राख्थें र बलरको रूपमा खेल्थें। यो खेलले हाम्रो शरीर मात्र होइन, मानसिक सशक्तता पनि प्रदान गर्छ। नेपालले टि–२० विश्व छनोट खेलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, जुन हाम्रो लागि गर्वको विषय हो। म चाहन्छु, आगामी दिनमा यही माटोबाट नेपालका लागि खेल्ने खेलाडीहरू देख्न पाइयोस् भन्ने।”
कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, गाउँपालिकाका उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, खेलप्रेमी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
क्रिकेट प्रतियोगिताको उद्देश्य गाउँका युवाहरूमा खेलप्रतिको रुचि वृद्धि गर्नु, प्रतिभा पहिचान गर्नु र खेलकुदमार्फत एकता तथा सहकार्य प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
