काठमाडौ , २ कार्तिक ।
जिल्ला रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी ल्हेन्दे खोलामा मिति २०८२ असार २४ गते आएको भीषण बाढीमा उद्धार कार्यमा खटिएका प्रहरी जवान लोकेन्द्र बोहरा वीरगति प्राप्त भएका छन् । आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको ज्यान र सम्पत्ति जोगाउने महान् कर्तव्य निर्वाह गर्ने क्रममा उहाँले सर्वोच्च बलिदान गर्नुभएको हो ।
वीरगति प्राप्त कर्मठ राष्ट्रसेवक बोहरा प्रति पशुपति आर्यघाटमा आयोजित कार्यक्रमका बीच भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । शोकसभामा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले वीर प्रहरी जवान बोहराले देखाएको अदम्य साहस, कर्तव्यनिष्ठा र राष्ट्रसेवाको भावना नेपाली प्रहरीका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी जवान लोकेन्द्र बोहराले जस्तै आफ्नो कर्तव्यप्रति समर्पित, निडर र जनताप्रति उत्तरदायी प्रहरी बनिनु नै हाम्रो साझा दायित्व हो ।”
श्रद्धाञ्जली कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरू, प्रहरी अधिकृतज्यूहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा वीर प्रहरी जवान बोहरा प्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यस अवसरमा प्रहरी अधिकृतहरूले वीरगति प्राप्त बोहराको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँको त्याग र बलिदानको सम्झना सदैव रहने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा दिवंगत प्रहरी जवान लोकेन्द्र बोहरा प्रति सम्मानस्वरूप शोक शलामी अर्पण गरिएको थियो ।
नेपाल प्रहरीको इतिहासमा आफ्नो कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्नुभएका बोहराको योगदान अमर रहिरहने बताइएको छ । उहाँले देखाउनुभएको साहस र समर्पणले सम्पूर्ण प्रहरी परिवारलाई देश र जनताको सेवामा अझ दृढताका साथ अगाडि बढ्ने प्रेरणा दिएको सहभागीहरूले बताएका छन् ।
रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीले स्थानिय बासिन्दा र संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यही उद्धार अभियानको अग्रपंक्तिमा खटिएर प्रहरी जवान लोकेन्द्र बोहराले आफ्नो कर्तव्यपालनको क्रममा सर्वोच्च बलिदान गर्नुभएको हो ।
नेपाल प्रहरी परिवारले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ ।
