मकवानपुर, ४ कात्तिक ।
मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–४ थाहा चोकस्थित पदम खाजा घर पछाडि बनेको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
(Advrts)

प्रहरीका अनुसार मिति २०८२।०७।०३ गते साँझ ५ बजे विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा प्रहरीले खेलमा प्रयोग गरिएका ६ बुक तास, १६ वटा कौडा र नगद रु. ४७ हजार ७ सय ९० समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा —
१. होटल सञ्चालक पदमबहादुर भोलन (४० वर्ष), स्थायी ठेगाना मकवानपुर बागमती गाउँपालिका–१, हाल हेटौडा–४
२. समिर योन्जन (३४ वर्ष), बागमती गाउँपालिका–१
३. हिरा लामा तितुङ (४० वर्ष), कैलास गाउँपालिका–१०
४. मिलन तामाङ (३० वर्ष), हेटौडा–११
५. रोमप्रसाद चौलागाई (४५ वर्ष), बारा निजगढ नगरपालिका–५
प्रहरीले बरामद सामानसहित सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी जुवा ऐन, २०२७ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
