पर्सा, २४ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा लायन्स क्लब वीरगञ्जको आयोजनामा जिल्ला कारागार पर्सामा रहेका महिला कैदीबन्दीहरूलाई सल तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।
मिति २०८२।०८।२४ गते बिहान ९ः१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका–५ स्थित कारागार कार्यालय परिसरमा आयोजित कार्यक्रममा महिला कैदीबन्दीहरूलाई ६२ थान सल तथा कैदीबन्दीसँग रहेका ५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
उक्त कार्यक्रममा लायन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, कारागार प्रशासक उप–सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगञ्जका बेसपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरी घिमिरे तथा कारागार सुरक्षा गार्डका प्रहरी नायब निरीक्षक डम्मर बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले कारागारमा रहेका महिला कैदीबन्दी तथा बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्याउने यस्ता सामाजिक कार्यहरू निरन्तर हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले समाजसेवी संघ–संस्थाहरूको सहकार्यले मानवीय संवेदना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय तथा सहयोगात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले बताए ।
