पर्सा, ६ फागुन।
राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) को नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा भव्य पार्टी प्रवेश तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा स्थानीय युवा, बुद्धिजीवी तथा सर्वसाधारण राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। कार्यक्रममा नवप्रवेशीहरूलाई उम्मेदवार पन्तले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए।
उक्त अवसरमा बोल्दै उम्मेदवार पन्तले टेढाबासीको अपार माया, विश्वास र समर्थनप्रति हार्दिक आभार व्यक्त गरे। उनले जनताको अपेक्षा अनुरूप पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्र नम्बर १ को समग्र विकासलाई आफ्नो प्राथमिकता बनाउने बताए।
कार्यक्रममा सहभागी स्थानीयबासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आशा र भरोसा व्यक्त गर्दै आगामी निर्वाचनमा परिवर्तनका लागि समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको समस्या, सुझाव तथा अपेक्षा समेत सुनेका थिए।
पार्टी प्रवेश र घरदैलो कार्यक्रमसँगै पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनसमर्थन बढ्दै गएको स्थानीय जानकारहरूले बताएका छन्।
