वीरगञ्जमा निर्वाचन लक्षित धार्मिक द्वेष फैलाउने षड्यन्त्र विफल,ईनर्वाबाट ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

समाचार

वीरगञ्ज, २० फागुन।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक तथा धार्मिक द्वेष फैलाउने उद्देश्यसहित विस्फोटक पदार्थ र संवेदनशील सामग्रीसहित एक घरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, बुधबार बिहान करिब पौने ३ बजे विशेष सूचनाको आधारमा एकीकृत संयुक्त सुरक्षा टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनरवा गाउँ क्षेत्रमा सर्च अभियान सञ्चालन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बरामद सामग्री
प्रहरीले पक्राउ परेकाहरूबाट:
९ थान सुतली बम,१ थान सुँगुरको टाउको र
करिब १० मिटर वायरिङ तार (५ वटा सेतो तार) बरामद गरेको जनाएको छ।

प्रहरीले औपचारिक रूपमा नाम सार्वजनिक नगरे पनि केही सञ्चार माध्यमले पक्राउ पर्नेहरूमा वीरगञ्ज–१६ निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेको दाबी गरेका छन्।स्रोतका अनुसार मदन यादव भन्ने ब्यक्ति  बस्ने घरबाट सो संवेदनशील सामग्रीसहित तिनैजनालाई नियन्त्रणमा लिएको हो।यद्यपि यस विषयमा प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ।

धार्मिक तनाव भड्काउने आशङ्का
प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेकाहरूले निर्वाचन बिथोल्ने, सामाजिक सद्भाव बिगार्ने तथा धार्मिक द्वेष फैलाउने उद्देश्यले सुतली बम र सुँगुरको टाउको जस्ता सामग्री प्रयोग गर्ने योजना बनाएको आशङ्का गरिएको छ।

विशेष गरी सुँगुरको टाउको धार्मिक स्थलमा फालेर साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास हुन सक्ने प्रहरीको अनुमान छ।

कडा कानुनी कारबाहीको तयारी
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ।

सुरक्षा व्यवस्था कडा
पर्सा जिल्लामा निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा सतर्कता उच्च पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाको संयुक्त टोलीले सीमावर्ती तथा संवेदनशील क्षेत्रमा निगरानी, चेकजाँच र सर्च अभियान तीव्र पारेको छ।

प्रहरीले सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई सूचना दिन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
घटनाले निर्वाचनको मौन अवधिमा सम्भावित अशान्ति र धार्मिक सद्भाव बिगार्ने प्रयासलाई सुरक्षा निकायले समयमै विफल पारेको देखाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *