वीरगञ्ज, २० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिका बीच पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी शङ्कास्पद विस्फोटक जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रहेका चौधरीलाई मङ्गलवार राति करिब १०:१० बजे पर्सागढी नगरपालिका–३ बडनिहार बजारस्थित संयुक्त चेकिङका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
संयुक्त चेकिङमा भेटियो शङ्कास्पद वस्तु
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा.१० च १२५० नम्बरको गाडीमाथि शंका लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विधिपूर्वक जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरिएको चौपाटे आकारको टिनको बाकसभित्र बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरिसकेको र घटनाबारे थप प्राविधिक परीक्षण तथा अनुसन्धान जारी रहेको जनाएको छ।
चार जना नियन्त्रणमा
घटनासँग सम्बन्धित भन्दै प्रहरीले निम्न चार जनालाई नियन्त्रणमा लिएको छ–
१)मनोज कुमार चौधरी, ४६ वर्ष, वीरगञ्ज–१७ (नेकपा, पर्सा–२ का उम्मेदवार)
२)सहाब आलम अन्सारी, २६ वर्ष, प्रसौनी गाउँपालिका–४, बारा
३)सुरज कार्की, ३० वर्ष, धनुषाधाम नगरपालिका–९, धनुषा
४)सत्यनारायण थारु, ६८ वर्ष, पर्सागढी नगरपालिका–३, पर्सा
उनीहरूलाई हिरासतमा राखी विस्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्तिविरुद्धको कसूर तथा निर्वाचन सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मौन अवधिमा सुरक्षा कडाइ
निर्वाचनको मौन अवधिमा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै पर्सा जिल्लामा संयुक्त गस्ती तथा सघन चेकजाँच अभियान सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले बताएका छन् । डिएसपी बस्नेतकाअनुसार घटनाबारे विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ।
यस घटनाले निर्वाचनको संवेदनशील समयमा सुरक्षा सतर्कता थप कडा बनाइएको संकेत दिएको छ। प्रहरीले सर्वसाधारणलाई कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
