मिनीट्रकको छतमा फल्स बटम बनाएर लुकाइएको ४५४ किलो गाँजासहित चालक पक्राउ

समाचार

महोत्तरी, साउन १२ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ साउन १२ गते सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकलाई महोत्तरीको बर्दिबास नगरपालिका–३ मा शङ्कास्पद अवस्थामा रोकी जाँच गरिएको थियो।

जाँचका क्रममा ट्रकको छतमा फल्स बटम (नक्कली तह) बनाई लुकाइछिपाइ राखिएको ६० वटा पोकामा ४५४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा ललितपुर गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङलाई पक्राउ गरिएको छ। पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, काठमाडौंका सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार बरामद गाँजासँगै उक्त मिनीट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद सामग्री
४५४ किलोग्राम गाँजा
बा ४ ख ५६९२ नम्बरको मिनीट्रक (१ थान)

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *