वीरगन्जका वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ : तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने वडा अध्यक्षहरूको चेतावनी

समाचार

वीरगन्ज,१२ साउन  । वीरगन्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेपछि महानगरका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पक्राउको कडा विरोध गर्दै चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गरेका छन्। अन्यथा साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

साउन १२ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा वडा अध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिमाथि गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्य र जनप्रतिनिधिको मर्यादाविपरीत भएको बताएका छन्। नगरवासीको हकहितका लागि आवाज उठाउने क्रममा व्यक्त गरिएका धारणा र पहललाई आधार बनाएर गरिएको पक्राउप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिअनुसार, साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा चिकित्सकको कथित लापरवाहीका कारण वीरगञ्ज महानगरपालिका–२४ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि उत्पन्न परिस्थितिमा पीडित परिवारको गुनासोको न्यायोचित समाधानका लागि वडा अध्यक्षहरूले स्थानीय प्रशासनसँग समन्वय गरिरहेका थिए। यही क्रममा वडा अध्यक्ष चतुर्वेदीलाई महानगरपालिका कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ।

वडा अध्यक्षहरूले चतुर्वेदीलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्दै माग सम्बोधन नभए साउन १३ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरी थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन्।

उक्त जानकारी वडा अध्यक्षहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *