काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित औषधिजन्य उत्पादनहरू (ट्याबलेट, क्याप्सुल, झोल आदि) औषधि पसलहरूबाट बिक्री वितरण भइरहेको पाइएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थाहरूले बिना स्वीकृति सेवाहरू सञ्चालन गरी भ्रामक विज्ञापनहरू प्रचारप्रसार गरेको विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता न्युट्रास्युटिकल्सलाई खाद्य वा आहारपूरक सामग्रीका रूपमा दर्ता गरे पनि औषधि व्यवस्था विभागले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सोही अनुसार, २०८१ वैशाख ३ गते सर्वोच्च अदालतले यस्ता उत्पादनहरू बिक्री वितरण नगर्न आदेश दिएको छ।
मन्त्रालयले यस्ता अवैध उत्पादनहरूको नियमित रूपमा जफत र कारबाही गर्दै आएको र वार्षिक रूपमा करिब ३,००० फार्मेसीहरूको अनुगमन गरिरहेको जानकारी दिएको छ। साथै, हालसम्म १०० भन्दा बढी मुद्दाहरू जिल्ला अदालतहरूमा दर्ता गरिसकिएको मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५(२) अनुसार गलत तथा भ्रामक विज्ञापन गर्न नपाइने व्यवस्था रहेको भन्दै मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई ऐनअनुसार कार्य गर्न आग्रह गरेको छ। यदि कसैले नियम उल्लंघन गरेमा कडा कानूनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।
मन्त्रालयले यस्ता अवैध अभ्यासहरू रोक्न हेल्लो स्वास्थ्य कल सेन्टर (१११५), WhatsApp/Viber नम्बर (९८५१३३०५९२), फेसबुक, ट्विटर (@mohpnep) वा इमेल (hellohealth@mohp.gov.np) मार्फत गुनासो दर्ता गराउन पनि सर्वसाधारणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आग्रह गरेका छन् ।
