काठमाडौं, २१ चैत ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्।
सरकार परिवर्तनसँगै सुरु गरिएको भ्रष्टाचार नियन्त्रण तथा गैरकानुनी आर्थिक गतिविधिविरुद्धको अभियान अन्तर्गत उच्चस्तरीय व्यक्तिहरूमाथि कारबाही तीव्र बनाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा नेपाल प्रहरीले शुक्रबार दिउँसो अग्रवाललाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। पक्राउपछि विभागले अपराह्न ४ बजेदेखि उनीसँग बयान लिएको थियो।
अनुसन्धान प्रक्रिया अघि बढाउने क्रममा अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अग्रवाल हिरासतमा रहेको पुष्टि गर्दै पक्राउ प्रक्रिया विभागको अनुरोधअनुसार गरिएको स्पष्ट पारे।
“उहाँलाई सम्पत्ति शुद्धीकरण विभागको निर्देशनअनुसार हिरासतमा राखिएको हो,” मिश्रले बताए।
सरकारले पछिल्लो समय भ्रष्टाचार, आर्थिक अनियमितता तथा अवैध सम्पत्ति आर्जनविरुद्ध आक्रामक रूपमा कारबाही अघि बढाइरहेको छ। यसक्रममा ‘हाई-प्रोफाइल’ व्यक्तिहरूमाथि अनुसन्धान र पक्राउको क्रम बढ्दै गएको देखिन्छ।
अग्रवालमाथि लगाइएको आरोप तथा अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायले आवश्यक अनुसन्धानपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
