सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान, आपसी सहकार्य थप मजबुत बनाउने प्रयास

समाचार

बारा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (एस.एस.बी.) बीचको आपसी समन्वय, सहकार्य र मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले बारा जिल्लाको सीमावर्ती क्षेत्रमा संयुक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।

जेठ २ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली सशस्त्र प्रहरी कर्मचारी तथा भारतीय एस.एस.बी.का सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत नेपाल–भारत सीमा दशगज्जा क्षेत्रमा पर्ने सडक, सार्वजनिक स्थल तथा आवतजावत हुने स्थानहरूमा सरसफाइ गरिएको थियो। सीमा क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा श्रमदान गरेका थिए।

सीमा क्षेत्रमा हुने यस्ता संयुक्त कार्यक्रमले वातावरण संरक्षण तथा सरसफाइप्रति स्थानीयमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै दुई देशका सुरक्षा निकायबीचको सम्बन्धलाई थप विश्वासिलो र प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले सीमा क्षेत्र केवल सुरक्षा संवेदनशील स्थान मात्र नभई सामाजिक तथा वातावरणीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्र भएकाले यसलाई स्वच्छ र व्यवस्थित राख्नु सबैको साझा दायित्व भएको बताएका थिए।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, संयुक्त गस्ती, सरसफाइ अभियान तथा समुदायसँग सहकार्यका गतिविधि निरन्तर सञ्चालन हुँदै आएका छन्।

यस प्रकारका संयुक्त कार्यक्रमले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र सौहार्दपूर्ण सम्बन्ध कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *