वीरगञ्जमा खैरो हिरोइनसहित २१ वर्षीय युवक पक्राउ

समाचार

वीरगञ्ज, १६ जेठ । पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको “लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत शनिबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित त्रिशूल चोक क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले एक युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देख्नासाथ शंकास्पद रूपमा भाग्न खोजेका वीरगञ्ज महानगरपालिका–१५ भिष्वा निवासी २१ वर्षीय ऋतिक साहलाई पक्राउ गरी खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीबाट प्लास्टिकसहित ०.६१ मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको थियो।

बरामद पदार्थलाई प्रहरीले रीतपूर्वक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउ परेका साहविरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

पर्सा प्रहरीले पछिल्लो समय लागू औषध ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। प्रहरीको सक्रियतासँगै जिल्लामा लागू औषध सम्बन्धी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *