काठमाडौं, असार १५। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले भारी वर्षा, बाढी, पहिरो, डुबान तथा चट्याङको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
भारी वर्षाका कारण अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबान जस्ता विपद्का घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले खोला, नदी तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दा तथा नदी किनारका समुदायलाई थप सतर्क रहन आग्रह गरेको छ। डुबानको जोखिम भएका बस्तीका नागरिकलाई सुरक्षित र उँचो स्थानको पहिचान गरी आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न पनि अनुरोध गरिएको छ।
यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।
प्राधिकरणले विपद्सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्राप्त गर्न तथा आपत्कालीन अवस्थाका लागि वर्षा तथा बाढी सूचना सेवा– ११५५, विपद् सहायता हटलाइन– ११४९, नेपाल प्रहरी– १०० र सशस्त्र प्रहरी बल– १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यकता पर्दा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न सबैमा अपिल गरिएको छ।
