बालबालिका खेल्ने पार्कभित्र अवैध हुक्का बारमा महानगरको छापा, हुक्का र सुर्तीजन्य सामग्री बरामद

समाचार

वीरगन्ज, १७ असार । बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएको सार्वजनिक पार्कभित्र अवैध रूपमा हुक्का तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको भेटिएपछि वीरगन्ज महानगरपालिकाले आकस्मिक छापा मारी ठूलो परिमाणमा सामग्री बरामद गरेको छ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नं. ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र सञ्चालित दियास हस्पिटालिटी प्रा.लि. मा महानगरको अनुगमन टोली, नगर प्रहरी र स्थानीय साक्षीहरूको उपस्थितिमा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा प्रोप्राइटर दिपिका क्षेत्री रहेको उक्त फर्मको स्टोरबाट ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड तथा १७ प्याकेट विभिन्न फ्लेभरका हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरिएको महानगरपालिकाले जनाएको छ। बरामद सबै सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ।

घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै कार्यवाहक नगरप्रमुख आलमले बालबालिकाको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक पार्कभित्र यस्ता अवैध गतिविधि हुनु अत्यन्तै निन्दनीय भएको बताउनुभयो। उहाँले बालबालिकाको हितविपरीत हुने कुनै पनि गैरकानुनी गतिविधिलाई सहन नसकिने स्पष्ट पार्दै संलग्न व्यक्ति वा व्यवसायमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभयो।

महानगरका अनुसार उक्त व्यवसायको दर्ता तथा नवीकरण प्रक्रिया वैधानिक देखिए पनि सार्वजनिक पार्क क्षेत्रभित्र प्रतिबन्धित हुक्का तथा सुर्तीजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गरिएको पाइएकाले कानुनी कारबाही अघि बढाइएको हो।

वीरगन्ज महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा अन्य सार्वजनिक स्थल वरपर हुने यस्ता अवैध गतिविधिविरुद्ध बजार अनुगमनलाई अझ सशक्त र प्रभावकारी बनाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *