वीरगञ्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’ सक्रिय, नेतृत्व सरफुद्दिन मियाँलाई

समाचार

वीरगञ्ज ,२५ असार । वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यका साथ गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ।

सोमबारदेखि जिम्मेवारी सम्हालेका मियाँको नेतृत्वमा सहरका विभिन्न क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गर्नुका साथै सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइने महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।

जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले वीरगञ्जमा कुनै पनि प्रकारको फोहोर र अतिक्रमण हुन नदिन तथा महानगरका सेवा र विकासका काममा कुनै कमजोरी हुन नदिन एक्सन टिमलाई कडा निर्देशन दिनुभएको छ। उहाँका अनुसार अभियान मुख्य सडकमा मात्र सीमित नरही महानगरका सबै ३२ वटै वडामा प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।

उहाँले महानगरको गरिमा उँचो राख्न, नागरिकलाई स्वच्छ वातावरण उपलब्ध गराउन तथा जनस्वास्थ्यसँग जोडिएका समस्यालाई समाधान गर्ने गरी नागरिकमैत्री र परिणाममुखी ढंगले काम गर्न एक्सन टिमलाई निर्देशन दिनुभएको छ।

महानगरले सञ्चालन गर्न लागेको यस अभियानबाट सरसफाइ व्यवस्थापन थप प्रभावकारी हुने, फुटपाथ अतिक्रमण नियन्त्रणमा आउने र वीरगञ्जलाई स्वच्छ तथा व्यवस्थित सहरका रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *