पर्सामा ब्राउन सुगर, गाँजा र प्रतिबन्धित ट्याब्लेटसहित ३ जना पक्राउ

समाचार

वीरगञ्ज, असार २५।पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर, गाँजा तथा प्रतिबन्धित ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बुधबार बिहान करिब २:४० बजे अस्थायी प्रहरी पोस्ट रानीघाटबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित भाडाको कोठामा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका–१ घर भई हाल रामगढवामा बस्दै आएका २१ वर्षीय राहुल बैठा र सुनसरीको इटहरीका २२ वर्षीय साईमन क्षेत्री रहेका छन्।

उनीहरू बस्दै आएको कोठाको खानतलासी गर्दा प्लास्टिकसहित ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र गाँजाको एक पुरिया बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन दिउँसो करिब ४:०० बजे वीरगञ्ज महानगरपालिका–१९ स्थित तिलावे पुलमा गरिएको सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा अर्को एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोस्ट बिन्दवासिनीबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१२ मुर्ली निवासी २२ वर्षीय विकास मियाँ मन्सुरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट प्रतिबन्धित नाइट्राजेपाम (Nitrazepam) ट्याब्लेट ५० पिस बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *