धरान ,२५ असार । उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि बिचौलियाको गतिविधि भइरहेको भन्ने विशेष सूचनापछि इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट सस्तोमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभन देखाएर अवैध कमिसनको चलखेल गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरी, सुनसरी, भोजपुर, मोरङ र उदयपुरका १८ देखि ४० वर्ष उमेर समूहका १० जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले स्वास्थ्य संस्थामा हुने यस्ता बिचौलिया गतिविधिविरुद्ध निगरानीलाई अझ प्रभावकारी बनाइने समेत जनाएको छ।
पक्राउ पर्नेहरूमा :
१. जिल्ला सप्तरी अग्नीसाईर कृष्णासवरन गाँउपालिका वडा नं.-०३ बस्ने वर्ष ३७ को रन्जित कुमार चौधरी ।
२. जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.-०६ बस्ने वर्ष २७ की रबिना मण्डल ।
३. जिल्ला भोजपुर आमचोक गाँउपालिका वडा नं.-०८ बस्ने वर्ष ३५ को हस्त श्रेष्ठ ।
४. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-१५ बस्ने वर्ष २० को सागर पोखरेल ।
५. जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं.-०३ बस्ने वर्ष २९ को सान्बिन किराती ।
६. जिल्ला सुनसरी धरान उम-महानगरपालिका वडा नं.-०६ बस्ने वर्ष २३ को मनिष बुढाथोकी ।
७. जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.-०५ बस्ने वर्ष ४० को उमेश कुमार चौधरी
८. जिल्ला सुनसरी धरान उम-महानगरपालिका वडा नं.-१७ बस्ने वर्ष ३५ को धिरोज निरौला।
९. जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.-०२ बस्ने वर्ष ३१ को रोहित मेहता ।
१०. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-११ बस्ने वर्ष १८ को बिनोद भट्टराई रहेको प्रहरीले जनाएको छ।
