वीरगञ्ज महानगरमा कर्मचारी आन्दोलन स्थगित, सहमतिपछि सेवा सुचारु

समाचार

वीरगञ्ज,२५ असार । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि थालेको आन्दोलन कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि स्थगित भएको छ।

सहमतिसँगै कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।

स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर एकाइका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउन माग गर्दै केही समयका लागि महानगरको दैनिक कार्यसम्पादन प्रभावित बनाएका थिए।

आन्दोलनपछि कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र कर्मचारी प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा तत्काल जेठ महिनाको तलब निकासा गर्ने सहमति भएको स्रोतले जनाएको छ। उक्त सहमतिपछि आन्दोलन फिर्ता लिइएको हो।

वार्तापछि कार्यवाहक प्रमुख आलमले आन्दोलनका विषयमा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि समस्या संवादबाट समाधान गर्न सकिने धारणा राखेका छन्। जनतालाई प्रत्यक्ष सेवा दिने निकायको काम अवरुद्ध हुने गरी पूर्वसूचनाबिनै आन्दोलन गर्नु उचित नभएको उनको भनाइ थियो।

महानगर स्रोतका अनुसार यसअघि पनि कर्मचारीहरूको लामो समयदेखि रोकिएको तलब भुक्तानी प्रक्रिया अघि बढाइएको थियो। कार्यवाहक प्रमुख आलमले जिम्मेवारी सम्हालेपछि स्थायी कर्मचारीहरूको तीन महिनाको तथा करार कर्मचारीहरूको चार महिनाको बक्यौता तलब निकासा गरिएको दाबी गरिएको छ।

हालको सहमतिअनुसार बाँकी तलब भुक्तानीका विषयमा पनि चरणबद्ध रूपमा प्रक्रिया अघि बढाइने जनाइएको छ। सहमतिसँगै महानगरका सबै शाखाबाट सेवा प्रवाह पुनः सुचारु भएको छ।

यस घटनापछि कर्मचारीका माग सम्बोधन गर्दै सेवा प्रवाहलाई निरन्तरता दिन महानगर नेतृत्वले संवाद र सहकार्यलाई प्राथमिकता दिएको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *